आजका विद्यार्थीमा कला–संस्कृति, अनुशासन र कर्तव्य हुनु टड्कारो आवश्यकता देखिन्छ । कक्षामा शिक्षकले सहजीकरण गरिरहँदा सिकाइमा ध्यान दिनुपर्दछ । शिक्षकको सहयोगमा सिर्जनशील बन्नुपर्दछ । प्रत्येक दिन उपलब्धीमूलक गृहकार्यहरु तथा कक्षाकार्यहरु मात्र गर्नुपर्दछ । परीक्षामुखी भन्दा पनि सिकाइमुखी हुनुपर्दछ । कक्षामा शिक्षकले प्रश्न सोध्दा सहजै उत्तर दिनुपर्दछ तथा अन्तरक्रियामा भरपुर सहभागी हुनुपर्दछ ।
अचेलका सिकाइहरु सबै बालमैत्री छन् । विद्यार्थीको रुचि, उमेरअनुसार सिकाइ पद्धतिहरु अगाडि बढाइरहेको पाइन्छ । विद्यार्थीकेन्द्रित शिक्षण सिकाइहरु भइरहेका छन् । परीक्षाको अङ्कलाई मात्र नभई उनीहरुको सर्वाङ्गीण विकासमा ध्यान दिएको पाइन्छ । जीवन पर्यत्न शिक्षा आजको आवश्यकता हो । त्यसैलाई मध्यनजर गर्दै शिक्षणमा पनि जीवन जिउने कला र सिप सिकाउने ध्याउन्नमा अचेल विद्यालयहरु अगाडि बढिरहेका छन् । देशको मेरुदण्ड विद्यार्थी भएका कारणले उनीहरुलाई सक्षम, दक्ष बनाई बागडोर सम्हाल्न दिनु आजको चौतर्फी आवाज रहेको छ ।
विद्यार्थीहरुमा नम्रता, शिष्टता, इमान्दारिता जस्ता गुण हुनु जरुरी देखिन्छ । सदाचार नैतिक अनुशासन, मीतभाषीपन तथा उचित चरित्रको अवलम्बन गर्नु आजका विद्यार्थीहरुले आफ्नो सम्मान ठान्नुपर्दछ । मोबाइल, इन्टरनेट, जस्ता प्रविधिका साधनलाई सिकाइको माध्यम बनाउँदै रमाउनु पर्दछ । घरकै खानेकुराहरुलाई प्राथमिकता दिनुपर्दछ । बजारीया खानेकुराहरु बढी हानिकारक हुने भएकाले त्यस्ता खानेकुराबाट टाढै रहनुपर्दछ । सजग हुनपर्दछ । जिब्रोको स्वाद भन्दा पनि स्वास्थ्यलाई ख्याल गर्दै त्यस्ता खानेकुरालाई अलग्याउनुपर्दछ । घरमा जस्तो छ त्यसैमा रमाउन सिक्नुपर्दछ । देखाउनलाई भन्दा पनि जीवन धान्ने सोच बनाएर अगाडि बढ्नु पर्दछ । आकर्षक वस्त्रबाट वासनात्मक भावनाको सिर्जना हुने भएकाले एकाग्र मनले अध्ययन गर्ने बानीको विकास गर्नुपर्दछ ।
विद्यार्थीहरुले शिष्टाचार, नैतिक मुल्यमान्यता र सदाचारका नियमहरुमा आफूलाई बाँधी आफ्नो जीवनयापन सहज बनाउनु पर्दछ । बाबुआमाको कुरालाई सकरात्मक र मार्गनिर्देशका रुपमा ग्रहण गर्नुपर्दछ । सधैँ हँसिलो अनुहार बनाउनुपर्दछ । सानालाई आदर, वात्सल्य दिँदै ठूलालाई माया गर्नुपर्दछ । खोज अनुसन्धानमा केन्द्रित हुनु नै आफूलाई अपडेट राख्नु हो । जीवनको उद्देश्य भनेको ज्ञान प्राप्त गर्न मात्र नभई मातृभूमिको सम्मान र रक्षा गर्नु, धर्म र संस्कृतिलाई उन्नत गराउनु, अध्ययनशील हुनु हो ।
अचेल शिक्षक र विद्यार्थीको सम्बन्ध पहिलाको तुलनामा पारिवारिक देखिन्छ । विद्यार्थीप्रति शिक्षकले वात्सल्य बर्साउने गरेको पाइन्छ । शिक्षक–विद्यार्थी सम्बन्ध गहिराईमा पु¥याउनु नै जीवनले सार्थकता पाउनु हो । विद्यार्थीले शिक्षक नै मेरा लागि सर्वोपरि हो भन्ने सोचको उजागर गर्नुपर्दछ । ज्ञान प्राप्तिको जग नै शिक्षक हो भन्ने सर्वमान्य कुरालाई विद्यार्थीले पनि स्वीकार्नु पर्दछ ।
लेखक : सिएम रिमाल
हेटौंडा