हेटौँडा, छैटौँ संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–५ स्थित जीएस निकेतनले जितेको छ। आज सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जीएसले शारदा माध्यमिक विद्यालय, आमभञ्ज्याङलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको पहिलो सेट २५–१८ ले शारदा माविले जितेको थियो। त्यसपछि जीएस निकेतनले दोस्रो सेट २६–२४ र तेस्रो सेट २५–१९ ले जित्दै खेलमा पुनरागमन गर्यो। चौथो सेट २५–१६ ले शारदा माविले जिते पनि निर्णायक पाँचौँ सेटमा जीएस निकेतनले १५–८ को जित निकाल्दै उपाधि चुम्न सफल भयो।
फाइनल प्रवेशका क्रममा शारदा माविले सूर्यदय माविलाई तथा जीएस निकेतनले प्रजा जागृति माविलाई पराजित गरेका थिए। प्रतियोगितामा प्रथम हुने टोलीले नगद २५ हजार रुपैयाँ तथा द्वितीय हुने टोलीले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालयको आर्थिक सहयोग तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को आयोजनामा सम्पन्न दुईदिने प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहेको थियो।
तपाईंको प्रतिक्रिया दिनुहोस्