हेटौंडा / हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले रजत जयन्ती मनाउने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी रजत जयन्तीका अवसरमा हुने सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । २०५५ सालमा स्थापना भएको विद्यालयले आगामी माघ २९ गतेदेखि फागुन ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्दै रजत वर्ष मनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ २९ गते शोभा यात्रा हुनेछ ।
सांस्कृतिक झाँकी, स्काउट समूहसहित हुप्राचौरबाट सुरु भइ पारिजात पथ, स्कूलरोड, सीमाचोक, बुद्धचोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिको प्राङ्गणमा आइ शाेभा यात्रा समापन हुने छ । उक्त कार्यक्रमको संयोजनमा मोहन लामा रहेका छन् । फागुन १ गते माधवराज सुमार्गी स्मृति मावि स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक एवम् यू-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाको प्रमुख आतिथ्यमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिने छ । क्रिकेट प्रतियोगिताको संयोजनमा रविन पौडेल रहेका छन् । नेपाल क्रिकेट संघ र मकवानपुर क्रिकेट संघसँगको सहकार्यमा हेटौंडा एकेडेमीले एचए क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने सुमार्गीले बताए ।
सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन फागुन २ गते रुपचन्द्र विष्ट ‘थाहा’ स्मृति अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता हुनेछ । सुदर्शन ढकालले संयोजन गर्ने हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ । फागुन २ गतेदेखि फागुन ६ गतेसम्म विद्यालयको प्राङ्गणमा पुस्तक प्रदर्शनी हुनेछ । पुस्तक प्रदर्शनीको संयोजनमा समिर ढकाल रहेका छन् ।
सप्ताहव्यापी कार्यक्रमको चौथो दिन फागुन ३ गते हेटौंडा एकेडेमी सिङ्गिङ स्टार प्रतियोगिता हुने भएको छ । यो कार्यक्रमको संयोजनमा पेम्बा लामा रहेका छन् । यसैगरी फागुन ४ गते हेटौंडा एकेडेमी डान्सीङ आइडल, फागुन ५ गते वृहत् कवि सम्मेलन हुने छ । फागुन ६ गते वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा रजय जयन्ती स्मारिका विमोचन गर्नुका साथै सम्मान कार्यक्रम, पुरस्कार वितरण तथा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन हुने छ ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल गौरीदेवी चिमोरिया, प्रमुख कार्यकारी अधिकृत रमेश रिमाल, व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गीलगायतको उपस्थिति थियो ।