प्रिय जोन,
तिमीले लेखेको किताबको नाम सुनेरै मेरो दिमागको तार हल्लेको थियो । ‘असफल स्कूल’, तिम्रो किताबको नाम । किताब नेपाली भाषामा प्रकाशन भएपछिको सन्दर्भ हो यो । सिकाइ समुहका सुदर्शन घिमिरेले जानकारी दिनुहुँदा नै म सोच्थें, यो कस्तो किताब होला ! ठान्थें, गजबको किताब होला । आखिर किताबले हल्लाइदियो नै । हल्लिएको मनले सोचेर केही शब्द लेख्दैछु ।
नेपाली भाषामा लेखिएका शिक्षा सम्बन्धी पुस्तक पढ्छु । सहजै उपलब्ध भएका हिन्दी, अङ्ग्रेजी भाषाका पुस्तक पनि पढ्ने प्रयास गरिरहेको हुन्छु । मैले काम गर्ने स्कूलहरुमा पनि म यस खाले पुस्तक पढ्न सिफारिस गर्छु । मेरा सहकर्मी शिक्षाकर्मीलाई पनि पढ्न सुझाउँछु । बालबालिकाको क्षेत्रमा काम गर्ने अभियन्ताहरुलाई पनि पढ्नू भनिरहेको हुन्छु । कोही भने पढ्छु भनेर पनि नपढ्ने पाउँछु । नपढे वा सिक्न छोडे बूढो भइने कुरा नै बिर्सनेलाई म केही पनि भन्दिनँ । मनमनै प्रार्थना गर्छु, पढे हुने नि । सबै कुरा जान्दछु भन्ने भ्रममा परेकालाई त झन् के भन्नु र !
आफुलाई शैक्षिक अभियन्ता वा शिक्षाकर्मी हुँ भनेर जिकिर गर्ने जो कोहीलाई एउटा प्रश्न सोध्ने गरेको छु । गिजुभाइको दिवास्वप्न र हामी आमाबाबु, तेच्चुको कुरियोनागीको तोत्तोचान, चिनगिज आइतमातोभको प्रथम गुरुजस्ता पुस्तक पढेको छ कि छैन ? पढेको छुु भन्ने जवाफ सुन्न पाउँदा म पूलकित हुन्छु । कत्तिलाई त पुस्तक खरीद गरेरै उपहार दिने गरेको छु । यस्तैमा तिम्रो पुस्तक प्रकाशन भएपछि म डबल खुसी भएँ । तर तिम्रो पुस्तक बजारमा आउनेबित्तिकै पढ्न भ्याइनँ । पढ्नेबित्तिकै केही लेख्न सकिनँ । केही जरुर लेख्नेछु भन्ने मनमै साँचेर बसें । आज राम्रो स्कूल बारे तिमीले जोड गरेका कुराहरु सम्झिने कोसिस गर्दैछु र केही शब्द कोर्दैछु ।
हाम्रोमा पनि तिमीले पुस्तकमा उल्लेख गरेजस्तै अवस्था छ । अझ त्योभन्दा कैयौं वर्ष पछाडि छौं हामी । यहाँ पनि राम्रो स्कूल कुन छ ? भनेर कसैले सोध्यो भने तर्जनी औंला कता तेस्र्याउने भन्ने कुराको समस्या उस्तै छ । बहस हुँदै छन् । छलफल जारी छ । बहसमा हस् मात्र हुने, काम नहुने । रुपान्तरण र सोचान्तरणमा सिन्को नभाँचिने । छलफलमा छल मात्र बाँकी भएर फल नफल्ने परिपाटी । राम्रो स्कूल बनाउनुपर्छ भन्नेले पनि बनाउन सकेको देखिँदैन । राम्रो स्कूल खोज्नेहरुले दिउँसै टर्च बाल्नुपर्ने अवस्था छ ।
किताबमा स्कूलहरु असफल हुँदै गएकोतर्फ इंगित गरेको पक्ष जायज छ । भयानक सत्य पनि हो वर्तमानको । राम्रो स्कूल कस्तो स्कूल हो त ? यो प्रश्नको उत्तर पनि छायाँमै छ । यो प्रश्नको उत्तर नजानेर, नबुझेर र उल्टो बुझेर हामी अल्झिएका छौं । स्कूलको परम्परागत मान्यता हाम्रो मनबाट हट्न सकेको छैन ।
भवन ठूलाठूला भएको स्कूल राम्रो हो । खेल मैदान भएको स्कूल राम्रो हुन्छ । स्कूल बस भएको पो राम्रो त । कम्प्युटर ल्याब भएको स्कूल राम्रो नि । नृत्य, सङ्गीत, कला सिकाउने स्कूल बडो राम्रो हुन्छ त । तालिमप्राप्त शिक्षक भए पो स्कूल राम्रो हुन्छ । यस्तैयस्तै कुराहरु हामी सुन्छौं । अझ अन्यान्य कुरा पनि सुन्छौं । कडा अनुशासन भएको राम्रो हो । कुटेरै पनि तह लगाउने स्कूल भए झनै राम्रो हुन्थ्यो । यसरी सतहका एक दुइ कुरामा अल्झेका छौं हामी । हरेक दिन कक्षा हुने, पिरियड खाली नहुने, दिनहुँ कापी जाँच गर्ने र पढेको कुरा विद्यार्थीलाई सोध्ने भएमा राम्रो मान्ने पनि पाइन्छ।
स्कूल भनेको भौतिक कुरा हुन् भन्ने छाप टाउकोमा छ । बालबालिका एउटा फ्रेममा सिक्न आउने हुन् । निश्चित किताबी कोर्स पूरा गर्ने गराउने नियमित प्रक्रिया नै स्कूलको कार्यक्रम हो भन्ने छ ।
तिम्रो किताब पढेपछि त म रोकिएँ । अडिएँ । प्रश्नहरु रोकिएनन् । सोच्न थालेँ । कस्तो हो त राम्रो स्कूल ? कस्तो हो त रमाइलो स्कूल ? कस्तो स्कूल बनाइरहेका छौं त हामी ? कस्तो बनाउन पर्ने हो स्कूल ? कस्तो हुनुपर्ने हो राम्रो स्कूल ? के हामी सक्दैनौं र स्कूललाई राम्रो बनाउँन, रमाइलो बनाउँन ?
तिमीले लेखेको किताब पढेर खाएको ‘पन्च’ र ‘किक’को स्वाद बारे अरु केही लेखौंला । अहिले भने तिमीले उल्लेख गरेको एउटा राम्रो स्कूलको सम्झना गर्न चाहन्छु । त्यसो त राम्रो स्कूलको कुरा गर्दा मेरो मनमा टेगोरको स्कूलको याद आउँछ । गिजुभाइको स्कूलको सम्झना आउँछ । तोत्तोचान पढेको तोमोए स्कूल मानसपटलमा ताजा भएर झल्किन्छ । नेपालमा भएका केही स्कूलहरुको यादमा टहलिन्छु । तिम्रो किताब पढिसकेपछि म पुनर्विचारको राजमार्गमा गाडी कुदाउँदै स्कूल खोजिहिँडेको छु । राम्रो स्कूलको खोजीमा । त्यो स्कूल राम्रो स्कूल हो जुन खासमा स्कूल होइन र बालबालिका आउन् भन्नका खातिर मात्र त्यसको नाउँ स्कूल राख्नुपरेको होस् । तिम्रो किताबमा यस्तै भाव अक्षरमा पढ्न पाइन्छ । हो, यस्तै स्कूलको सपना यो मनुवाको मनमस्तिष्कमा उब्जेको हो । यसर्थ पनि म जहाँ जान्छु, जुन स्कूलमा पुग्छु, त्यहाँको सिकाइ संस्कृति बारे चासो दिएर जिज्ञासा पोखिहाल्छु । यसक्रममा स्कूल राम्रो छ कि छैन भन्ने यकिन गर्न लामो समय लाग्दैन किनकि स्कूलहरुले नियमित रुपमा पाठ्यपुस्तक पढ्ने पढाउने कर्ममै दिन कटाइरहेका छन् ।
तिमीले उल्लेख गरेको राम्रो स्कूलको सन्दर्भमा केही कुरा जरुर मननीय छन् ।
शिक्षक र वयस्कसँग कुरा गर्न केटाकेटी निर्भय, स्वतन्त्र र इमानदार हुन्छन् । पढ्ने पढाउने काम हुँदैन । केटाकेटीलाई के ठिक लाग्छ सोही काम गर्छन्। शिक्षकले मद्दत पु¥याउँछन् । केटाकेटीलाई पढाइको कुनै दबाब छैन । जीवन्त, रोचक, रमाइलो, सुरक्षित, विश्वासी, सहयोगी र मानवीय समुदाय निर्माण गर्न वयस्कहरु केटाकेटीसँग काम गर्छन् । विषय, कक्षा, घण्टी, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, ग्रेड, अंक, रिपोर्ट कार्ड केही छैन । सबैजना आआफ्नो गतिअनुसार सिक्छन् । अरुलाई देखाउनका लागि केही पनि गराइदैन । जे गर्छन् स्वयम् गर्छन् र केटाकेटीले आफैं सिक्छन् । कुनै पनि दुइ केटाकेटी एउटै काम गर्दैनन् । उस्तै काम अर्को दिन गर्दैनन् । भर्नाका लागि कुनै प्रवेश परीक्षा लिइँदैन । गृहकार्यको बोझले कोही पनि थिचिँदैन । कुनै पनि पुरस्कार वा दण्डका कारण काम गर्ने भन्ने हुँदैन । सबै काम स्वतः हुन्छन् । काम गर्न आवश्यक प्रशस्त सामानहरु शिक्षकले जुटाइदिन्छन् । स्कूलको योजना निर्माण गर्न र पैसा खर्च कसरी गर्ने भन्ने सवालमा केटाकेटीको प्रत्यक्ष सहभागिता हुन्छ । निर्णय गर्न भोट गर्न पाउँछन् । एउटा राम्रो स्कूल कहिल्यै पूर्ण हुँदैन, यसलाई पुनः डिजाइन गर्न र पुनः निर्माण गर्न केटाकेटीले अवसर पाउँछन् । केटाकेटीले एकाग्र भएर केही हेर्दा कसैले उसको ध्यान खल्बल्याउदैन ।
जोन, मलाई लाग्छः यस्ता कुरालाई ठ्याक्कै फर्मुला स्टाइलमा परिपालना गर्न हुँदैन । सकिदैँन पनि । तर हामी पुग्नुपर्ने गन्तव्य त जरुर यही नै हो । दुइमत छैन ।
यति गजब पुस्तक अनुवाद र सम्पादनका लागि शरच्चन्द्र वस्तीलाई आभार । प्रकाशनका लागि सिकाइ समुहलाई धन्यवाद । जोन हल्ट, तिमीलाई त नौ मुरीभन्दा धेरै नै सद्भावका शब्दथुँगा अर्पन्छु ।
प्रिय हल्ट,
तिमीले ‘हल्ट’ भनेका कुरा साँच्चै रोकिउन् भनेर म कामना गरिरहेछु ।