हेटौँडाः नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघको २ र ३ गते हुने भएको छ । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयद्वारा आयोजित तेस्रो खेलकुद महोत्सव अन्तर्गत प्रतियोगिता हुन लागेको हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक एव्म भलिबल प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।
वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा खेलकुद महोत्सव हुँदैछ । नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको सह–व्यवस्थापकको जिम्मा आधुनिक राष्ट्रिय माविले पाएको छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र सहभागी हुन पाउनेछन् भने टिम दर्ता शुल्क ५ सय रुपैयाँ लाग्ने बताइएको छ । यसका साथै आधुनिक राष्ट्रिय माविले विद्यालय स्तरीय वादविवाद प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ । वादविवाद प्रतियोगिता आगामी माघ ११ गते हुनेछ ।
खेलकुद महोत्सव अन्तर्गत ब्रह्मदिक् एकेडेमीको सहव्यवस्थापनमा माघ ४ र ५ गते वडास्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल प्रतियोगिता र १५ गते कविता प्रतियोगिता हुनेछ । नवोदय शिशु सदनको सहव्यवस्थापनमा माघ ७ र ८ गते नगरस्तरीय बास्केटबल प्रतियोगिता एवम् माघ १३ गते नेपाली हिज्जे प्रतियोगिता हुनेछ । माघ १० गते हेटौँडा क्याम्पसको सहव्यवस्थापनमा माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ ।
भुटनदेवी माध्यमिक विद्यालयको सहव्यवस्थापनमा माघ १२ गते हाजिरीजवाफ प्रतियोगिता र माघ २३ र २४ गते नगरस्तरीय क्रिकेट प्रतियोगिता हुनेछ । यस्तै, सत्यम् जेभियर्स माध्यमिक विद्यालयको सहव्यवस्थापनमा पुस २५ गते महिला शिक्षकबिच टग अफ वार प्रतियोगिता र माघ १४ गते निबन्ध लेखन प्रतियोगिता हुनेछ ।
यसैगरी, जिल्लास्तरीय शिक्षक दौड र महिला शिक्षकबिच स्लो स्कुटी प्रतियोगिता माघ १५ गते हुनेछ । फागुन २३ र २४ गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेछ । फागुन १ र २ गते वडास्तरीय एथ्लेटिक्स प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
यसअघि, श्रमिक माध्यमिक विद्यालयको सहव्यवस्थापनमा गत पुस १० गतेदेखि १२ गतेसम्म नगरस्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिता र पुस ११ गते वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगिताका विजेताहरुलाई अगामी फागुन ७ गते पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।