स्कूल नभएको गाउँ सायदै होला । सहरमा त एउटा टोलमै बीसौंको सङ्ख्यामा स्कूल खुलेका छन् । चाहे नीजि, गुठी होस् वा सामुदायिक, सरकारी । तर ती स्कूल कस्ता छन् ? त्यहाँको भौतिक पूर्वाधार बालबालिकाको उमेर र क्षमता सुहाउँदो कत्तिका छ ? शिक्षणसिकाइको वातावरण कस्तो छ ? यसतर्फ भने सङ्ख्यात्मक बृद्धि अनुरुपको चासो पुगेको छैन । स्कूल चलेको छ । जेनतेन होस् वा दुक्खले होस् वा शानदार तवरले होस् । स्थानीय सरकार नभएको अवस्थामा पनि चल्न चाहिँ ठीकठाक चलेकै थियो । ‘सब ठीकठाक चलेको छ । किन चासो पुगेन ? भवन बनाएकै छौं । शिक्षकलाई तलब खुवाउन बजेट दिएकै छौं ।’ यसो भन्न पनि सकिन्छ । दिएको हो । लिएको पनि हो । विद्यालय व्यवस्थापन समितिमा निर्वाचित हुन लडेकै पनि हो । गरेकै पनि हो राजनीति।
राज्यको पुनर्संरचना भएको छ । स्थानीय तहको निर्वाचन भएको छ । स्थानीय सरकारमा जुझारु, कर्मठ, योग्य प्रतिनिधिहरु पनि चुनिएका छन् । सपना बोकेका अगुवाहरुको नेतृत्व छ । उनीहरु पनि मान्छन् कि शिक्षा नै समाज विकासको आधार हो । शिक्षामा लगानी गर्नु भनेको भविष्यका लागि लगानी गर्नु हो । बालबालिकामा लगानी गर्नु हो । अब खेर नजाने गरी लगानी गर्नेतर्फ स्थानीय नेतृत्वले योजना बनाउनुपर्छ । हरेक गाउँपालिका बालमैत्री, हरेक नगरपालिका बालमैत्री र हरेक विद्यालय बालमैत्री बनाउने अभियान सबैतिरबाट शुरु गरिनु अब जरुरी छ । सम्भव छ।
शुरुवातमा हरेक विद्यालय बालमैत्री विद्यालय बनाउने प्रतिबद्धता बोकेर अबको स्थानीय नेतृत्व अघि बढ्न सकोस् । यो कामनासहित बालमैत्री विद्यालय निर्माणको अभियानमा सरकारी तवरबाट भएको प्रयत्नको कार्यान्वयन होओस् भन्ने अभिलाषा धेरैको छ । बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ सालमै मन्त्रीस्तरीय निर्णयबाट पारित भइसकेको हो । यसकै आधारमा उभिएर पनि विद्यालयलाई बालमैत्री बनाउने कार्य थाल्न सकिने थियो । सकिन्छ । तर यो प्रयत्न विद्यालयसम्म पुग्न सकेको छैन । यो दस्तावेज नै थाहा नभएको अवस्था पनि अर्को सत्य हो । अब स्थानीय सरकारले यसमा अग्रसरता लिए हुन्थ्यो भन्ने यो पंक्तिकारको मनसुवा छ।
स्कूललाई बालमैत्री बनाउने कुरा सुन्नेवित्तिकै तर्सिने मनहरु पनि छन् । अब सकिन्न है । केटाकेटीले अब टेर्नेवाला छैन भनेर ती मनहरु आत्तिएका हुन्। बालमैत्री भनेको शारीरिक हिंसा बन्देज हुनु मात्र हो भनेर बुझ्ने वृत्त पनि सानो छैन । बालमैत्रीका वातावरणका बारेमा चर्चा र कुराकानी भएको सुनेपछि यो पंक्तिकारले पनि बालमैत्री विद्यालय भनेर घोषणा गरिएको विद्यालयको भ्रमण ग¥यो । बालमैत्री विद्यालयहरुको बारेमा गुगल र यूट्युबमा खोजी ग¥यो । केही सामाग्री पढ्यो । केही भिडियो हे¥यो । केही जिल्ला शिक्षा अधिकारीसँग बालमैत्री विद्यालयका लागि सरकारले तयार गरेको चेकलिस्ट के छ ? हार्डकपी चाहियो भनेर माग्यो । तर प्राप्त गर्न समर्थ रहेन । एक बालमैत्री स्थानीय शासनका अभियन्ता मित्रले पिडीएफ् फाइल इमेल गरिदिनुभएपछि एउटा आधिकारिक सामाग्री अध्ययन गर्ने सुअवसर मिल्यो।
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ नामको त्यो दस्तावेज प्रिन्ट गरेर मैले केही विद्यार्थी, शिक्षक, प्रिन्सिपल र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई पनि दिएँ । हामीकहाँ अध्ययन सामाग्रीको उपलब्धता छैन । विद्यालयको ढोकाभित्र पस्नुपर्ने विषय, सन्दर्भ र सामाग्री अझै पनि पस्न सकेको छैन । त्यो दस्तावेज अध्ययन गरेपछि एक विद्यार्थीले भने, ‘धेरै काम गर्न बाँकी छ स्कूल बालमैत्री हुनका लागि तर सम्भव भने रहेछ । हामीले गर्नुपर्छ ।’ मलाई यस्तो पुस्तासँग आश लाग्छ जोसँग ‘सम्भव छ, हामीले गर्नुपर्छ’ भन्ने भावना छ । अब स्थानीय सरकारमा पनि यस्तै भावनाका धनी चुनिएका छन् भन्ने विश्वास छ । अब सबै स्थानीय नेतृत्वले बालमैत्री विद्यालयका लागि एक मिनेट सोचिदिनुभए, एक घण्टा पढिदिनुभए, एक दिन लागिपर्नुभए केही शुभ लक्षण अवश्य देखापर्ने थियो । नेपाली शिक्षाको मुहार नै फेरिने दिशामा अग्रसर हुन्थ्यो । भन्न चाहन्छु कि हरेक बालबालिका रमाउने, हरेक शिक्षक सन्तुष्ट हुने, हरेक अभिभावक खुसी हुने विद्यालय बनाउन लागिपरौं।
कुरा गरेजस्तो काम गर्न सजिलो छैन । यो सबैलाई थाहा छ । शुरु नगरी काम पनि बन्दैन । यो पनि थाहा छ । यसर्थ मेरो आग्रह र अनुरोध छ, हरेक वडाले एउटा स्कूलबाट शुरु गरोस् । हरेक नगरपालिका वा गाउँपालिकाले अर्को एउटा स्कूलबाट शुरु गरोस् । एउटा वडाको स्कूल अवलोकन गर्न र सिकाइ आदानप्रदान गर्न अन्य वडाका शिक्षक र शिक्षाकर्मी आउने वातावरण बनोस् । एउटा नगरपालिका वा गाउँपालिकाको स्कूल अवलोकन गर्न र सफलता बारे अध्ययन गर्न अर्को नगरपालिका वा गाउँपालिकाको टोली भ्रमणमा आउँने अवस्थाको सिर्जना होस् । यस्तो अवस्था सिर्जना गर्नका लागि धेरै स्कूलहरुले आधारभूमि तयार गरिसकेका छन् । बाँकी काम गर्नमा स्थानीय सरकारले पहल गर्न सक्छ । प्रत्येक स्थानीय सरकारको शिक्षासम्बन्धी नीति, धारणा र कार्यक्रम प्रष्ट नभएसम्म यो सम्भव छैन । यसर्थ सबै स्थानीय नेतृत्वलाई यससम्बन्धमा अध्ययन गर्नेगराउने र थप कुरा बुझ्नेबुझाउने कार्यक्रम गर्नुपर्छ । अध्ययन भ्रमण, सामुहिक योजना निर्माण, बाबालिकाको प्रत्यक्ष सहभागितामा योजना कार्यान्वयन जस्ता कार्य क्रमशः गर्दै अघि बढ्नुपर्छ । विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलाई पनि पटकपटक अभिमुखीकरणमा सहभागी गराएर प्रष्ट बनाउनुपर्छ । यसो गर्दा द्वन्द्व हुने सम्भावना घटेर सहकार्यका ढोकाहरु खुल्दै जान्छन्।
शुरुवात एकबाट गरौं । एउटा बालमैत्री विद्यालय हेरेर, देखेर र जानेर अरु विद्यालयलाई पनि उत्साह जागोस् । बाटो खुलोस् । एउटा विद्यालय पनि बालमैत्री बनाउन नसक्ने हो भने कहिले पनि शिक्षामा रुपान्तरण, सोचान्तरण केही आउने छैन । म त के भन्छु भने, हरेक नगरपालिकाले कम्तीमा एक विद्यालय छानोस् । हरेक गाउँपालिकाले कम्तीमा एक विद्यालय छानोस् । निश्चित समय अवधिका लागि योजना बनाएर काम गरोस् । यस्तो पो त विद्यालय, यस्तो पो त शिक्षण सिकाइ भनेर गनिने विद्यालय बनाउन सकोस्।
यस्तै गरी प्याब्सन, एन्प्याब्सन जस्ता नीजि विद्यालयका छाता सङ्गठनले पनि कम्तीमा एउटा क्षेत्रमा एउटा विद्यालय बालमैत्री घोषणा गर्न सकिने अवस्थामा पु¥याउन लागिपरोस् । हरेक विद्यालय व्यवस्थापन समितिले पनि आफ्नो नेतृत्वमा भएको विद्यालयका लागि योजना बुनोस् । हरेक प्रधानाध्यापक वा प्रिन्सिपलले यसको अगुवाई गर्न सकोस् । अन्य सरोकारवालाले साथ दिने वातावरण बनोस्।
सरकारी शैक्षिक निकायले पनि बालमैत्री विद्यालय अभियानमा हातमा हात साथमा साथ दिएर लागिपरोस् । आर्थिक, प्राविधिक, भौतिक, नैतिक सबै बल लगाओस् । शैक्षिक रुपान्तरणमा क्षीण हुँदै गएका प्रयत्नहरु ताजा बन्नका खातिर शिक्षा क्षेत्रका जिम्मेवार अनुहारहरुले जीवनको ऐना हेर्नु जरुरी छ । हामी जागिर मात्र खाइरहेका छौं कि केही स्मरणयोग्य र उपलब्धिमूलक केही काम पनि गरिरहेका छौं ? जीवनको मूल्यलाई खेर त फालिरहेका छैनौं ? यी प्रश्नहरु सोधौं ऐनामा देखिएका अनुहारहरुलाई।
सबै विद्यालयका लागि बालमैत्री विद्यालय मापदण्ड तयार गरौं । यो काम सबै सम्बन्धित पक्षको सहभागितामा गरौं, स्थानीय सरकारले नेतृत्व गरौं । समयसमयमा सम्बन्धित सरोकारवालाको प्रत्यक्ष सहभागितामा मूल्याङ्कन र स्वमूल्याङ्कन गरौं । शिक्षक र व्यवस्थापनलाई उत्प्रेरित हुने गरी कार्यक्रमहरु गरौं । परिवर्तनको शुरुवात हुने कुरामा शङ्का छैन।
बालमैत्री विद्यालय कस्तो हुन्छ त ? यसका लागि केके आधार पूरा गर्नुपर्छ भन्ने सवालमा यस लेखमा समेटिएको छैन । यसका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ अध्ययन गर्न सिफारिस गर्न चाहन्छु।
अनि छलफल गरौं, के सम्भव छैन त हरेक विद्यालय बालमैत्री विद्यालय ?