हेटौंडा– नगरका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय विषयमा जानकारी दिने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाले नयाँ पाठ्यक्रम निर्माणको तयारी गरेको छ ।
२०७९ सालबाट कक्षा १ देखि ३ सम्म अध्यापन गराउँदै आएको स्थानीय पाठ्यक्रमलाई ४ देखि ८ कक्षासम्म सञ्चालनको तयारी गरेको हो ।
चालु शैक्षिक सत्रबाट लागु हुने गरी निर्माण गर्न लागिएको ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमका लागि सुझाब सङ्कलन गरिएको छ । मङ्गलबार हेटौंडा उपमहानगरपालिमा शिक्षा समितिका सरोकारवाला, पाठ्यक्रम निर्माणमा संलग्नसहित भएको छलफलले पाठ्यक्रमलाई सरल र सहज बनाउँनेतर्फ ध्यान दिन सुझाब दिएका थिए ।
पुस्तक निर्माणको क्रममा समेटिएका विषयहरुका बारेमा महाशाखा प्रमुख कोइरालाले प्रस्तुतीकरण गरेका थिए । नगर प्रमुख मीनाकुमारी लामाले स्थानीय पाठ्यक्रमलाई व्यवहारिक बनाउन जरुरी रहेको बताइन् । उनले स्थानेरय भाषा, संस्कृति भेषभूषासहितका विषयबारे बलाबालिकालाई जानकारी गराउँदै अघि बढाउनु पर्ने भन्दै शिक्षालाई ‘प्राक्टिक’ बनाउनेतर्फ ध्यान दिने जरुरी रहेको औल्याइन् ।
शिक्षा विकास इकाइका प्रमुख दिनानाथ गौतमले अन्य पालिकाले पनि आफ्नो पाठ्यक्रम निर्माण गरी अध्यापनमा लगाइसकेको भन्दै चाडै पुस्तक निर्माणका काम सकेर अघि बढ्न सुझाब दिए । पालिकाले पाठ्यक्रम निर्माण गर्दा स्थानीय पहिचानको विषयलाई राम्रोसँग उजागर गर्न जरुरी रहेको औल्याए । सानै उमेरबाट उनीहरुले स्थानीय पहिचानलाई सहज भाषामा बुझ्नेगरी पुस्तक तयार गर्न सुझाब दिए ।
प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीले जुनसुकै विषयमा बालबालिका मैत्री बनाउन जरुरी रहेको बताए । स्थानीय पाठ्यक्रम भएकाले निजी तथा सामुदायिक विद्यालयहरुमा नेपाली भाषामै अध्ययन गराउन जरुरी रहेको आवश्यक हुने सुझाब दिए । ‘हाम्रो हेटौंडा’ नाम रहेको स्थानीय पाठ्यक्रमलाई नगरको आफ्नो मौलिकता झल्कने गरी निर्माण गर्ने तयारी रहेको छ । पाठ्यक्रममा स्थानीय विषयबस्तुलाई बालबालिका माझ लैजाने गरी पुस्तक निर्माण हुने उपमहानगरको शिक्षा विकास महाशाखाले जनाएको छ । पुस्तकमा स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा र जातीय पहिचान सहितको सन्दर्भ सामग्री समेटिने महाशाखा प्रमुख सिताराम कोइरालाले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, उपमहानगर सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा.कृष्ण धिताल, शिक्षा विकास महाशाखा, प्यावसन मकवानपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



