३६५ दिन सिकाउने शिक्षकले मूल्याङ्कन नगरी कापीमा लेखेको विषयवस्तुका आधारमा मूल्याङ्कन गर्ने प्रणाली अब थोत्रो भयो, परिमार्जन गर्नुपर्छ ।
१८ महिनासम्म नतिजा आएन ! अङ्क/प्रतिशत/ग्रेड उच्च छ ! तर काम गर्न केही आएन ! विद्यार्थीहरू पटक्कै व्यावहारिक छैनन् ! अनुशासन छैनन् ! पास भएको प्रमाणपत्र लिन पनि गाह्रो छ ! परीक्षा नियन्त्रण कार्यालयहरू भद्रगोल छन् !
आम मानिसको यी र यस्तै गुनासा सुनिन्छन् । सधैं सुनिने यस्ता गुनासाहरू समाधानयोग्य भने छन् । शिक्षकमा आधारित मूल्याङ्कन प्रणाली यसको समाधान हो । विश्वका धेरै मुलुक र धेरै शैक्षिक संस्थामा यस्तो प्रचलन छ । नेपालमा पनि मूल्याङ्कन प्रणालीमा नवीनता ल्याउनुपर्छ । अब ढिला गर्नुहुन्न ।
३/४ घण्टाको लिखित परीक्षा वा मौखिक परीक्षा वा प्रयोगात्मक परीक्षाबाट मात्र होइन; फरक ढंगबाट पनि विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ । पुरानो मूल्याङ्कन प्रणालीलाई अब सुधार गर्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको विद्यार्थी मूल्याङ्कन प्रणालीमा शिक्षकलाई जिम्मेवार बनाउनुपर्छ । विद्यार्थीका सम्पूर्ण गतिविधि नजिकबाट चिन्ने र बुझ्ने भनेको शिक्षक नै हो । शिक्षकको सिफारिसमा विद्यार्थीलाई योग्यताको प्रमाणपत्र दिनुपर्छ ।
केही घण्टा लेखेको आधारमा फेल र पास छुट्याई प्रमाणपत्र दिने प्रणाली अब पुरानो भयो । यसमा धेरै समस्या देखिए । विद्यार्थीमा अनुशासन, सिर्जनात्मकता, मौलिकता, काम गर्ने सीप, क्षमता/दक्षता, स्मरण शक्ति लगायत सबै पक्षको मूल्याङ्कन कक्षा शिक्षकले गर्नुपर्छ ।
विद्यार्थीको सम्पूर्ण गतिविधि शिक्षकलाई थाहा हुन्छ, बाहिरी व्यक्तिलाई होइन । ३६५ दिन सिकाउने शिक्षकले मूल्याङ्कन नगरी कापीमा लेखेको विषयवस्तुका आधारमा मूल्याङ्कन गर्ने प्रणाली अब थोत्रो भयो, परिमार्जन गर्नुपर्छ ।

शिक्षकले घटनावृत्त अभिलेख, रुजु सूची, श्रेणी मापन, आत्ममूल्याङ्कन आदिका आधारमा आफ्ना विद्यार्थीको निरन्तरता मूल्याङ्कन गर्न सक्छन् । कापीमा लेखेको आधारमा सैद्धान्तिक ज्ञान परीक्षण भए तापनि व्यावहारिक ज्ञान परीक्षण हुन सक्दैन । त्यसैले हाम्रा शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना भए ।
दैनिक गृहकार्य, परियोजना कार्य, प्रस्तुति कार्य, असाइनमेन्ट मार्फत शिक्षकले आफ्ना विद्यार्थीको क्षमता हरक्षण परीक्षण गरिरहेका हुन्छ्न् । दैनिक क्रियाकलापमा देखाएका व्यवहारहरू, अनुशासन, कार्यशैली, कार्यकौशलता, सामाजिकीकरण, समस्या समाधान सीप, सिर्जनात्मक सीप, बौद्धिक क्षमता आदिको मापन शिक्षकले कक्षा-कोठामा गर्न सक्छन् । दैनिक पढाउने/सिकाउने शिक्षक भन्दा अरु व्यक्तिको मूल्याङ्कन भरपर्दो र विश्वासिलो हुन सक्दैनन् । यो कुरा सरोकारवाला निकायलाई सम्झाउनुपर्नेछ ।
आफ्नै शिक्षकबाट विद्यार्थी मूल्याङ्कन गर्ने प्रणाली विकास गर्न सके कापी हराउने, पुन: परीक्षा लिने, समयमा नतिजा दिन नसक्ने लगायत ढिलासुस्तीको निराकरण हुन्छ। परीक्षाको काम गर्ने निकायलाई धेरै राहत हुन्छ । शिक्षकको मूल्याङ्कनकै आधारमा विद्यार्थीको श्रेणीकरण गर्ने र प्रमाणपत्र दिने व्यवस्था मिलाउन सकिन्छ । यदि यसो भयो भने मूल्याङ्कन प्रणालीमा चमत्कार भएको ठान्नुपर्छ ।
यी सबै काम गर्न शिक्षक क्षमतावान् र इमानदार हुनुपर्छ । आफ्नो विषयमा विज्ञ हुनुपर्छ । धर्म, लिङ्ग, जात, वर्ण, राजनीति, आफ्नो-अर्काको विभेद नगर्ने व्यक्ति हुनुपर्छ । वास्तवमा शिक्षक दुनियाँकै गुरु हो। गुरु नै हुनुपर्छ । हरेक पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। त्यसैगरी विद्यार्थीका सम्पूर्ण गतिविधि र सूचनाहरू भण्डारण गर्ने शैक्षिक संस्थाहरू स्रोत र साधनले भरिपूर्ण हुनुपर्छ ।
शिक्षक मात्र होइन । विद्यार्थी पनि इमानदार हुनुपर्छ । अङ्क कम दिएको आधारमा शिक्षक कुट्ने, हुलहुज्जत गर्ने, शैक्षिक संस्थामा आगो लगाउने विद्यार्थीको प्रवृत्तिमा सुधार हुनुपर्छ । अन्यथा यो मूल्याङ्कन प्रणाली बेकामे हुन्छ । केवल एउटा बौद्धिक विलासको विषय हुन्छ । दुनियाँमा सफल हुने, नेपालमा नहुने प्रश्न नै छैन, मात्र सोचमा परिवर्तन जरुरी छ । शिक्षक-विद्यार्थी र समाजको सोच उन्नत भएको हुनुपर्छ। सबैमा उच्च नैतिकता हुनुपर्छ ।
स्रोत : गोरखापत्र



