हेटौंडा,
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गरेको छ ।
बिहीबार हेटौंडामा १५ औँ संस्करणको कार्यक्रम गर्दै १ लाख राशिको बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा र २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कारबाट देसार सम्मानित भएका हुन् । अग्रज साहित्यकार नगेन्द्र थापाले दुवैलाई सम्मान प्रदान गरेका थिए ।
उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा स्थापित बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरु सम्मानित भइसकेका छन् ।
प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार रहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।




