हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका शिक्षकलाई शैक्षिक व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शैक्षिक व्यवस्थापन सम्बन्धि शिक्षकका लागि २ दिने तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले शिक्षा क्षेत्रको सुधारमा लागि परेको बताए ।
‘हामी मनहरीको शिक्षा क्षेत्रको सुधारमा लागिपरेका छौं । यहाँका प्रधानाध्यापक तथा शिक्षकबाट हामीले सोही अनुसारको सहयोग पाइरहेका छौं’, कालाखेतीले भने, ‘प्रधानाध्यापकहरुको सरुवा, प्रोत्साहन, कार्यसम्पादन सम्झौता लगायतका कार्य गरिसकेका छौं । आवश्यकता अनुसार क्षमता विकास तालिम पनि गरिरहेका छौं ।’ २१ औं शताब्दीमा शिक्षकलाई प्रविधिसँग जोड्न सकिएन भने विद्यार्थी भन्दा कमजोर हुनसक्ने अवस्था आउने उनको भनाई थियो ।
शिक्षकलाई सूचना र प्रविधिसँग पहुँच पु¥याउन यस्ता तालिम फलदायी हुने भएकोले आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिने अध्यक्ष कालाखेतीको प्रतिबद्धता रहेको थियो । मनहरी ३ नम्बर वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, शिक्षा तथा मानव स्रोत विकास महाशाखाका अधिकृत सुशील पौडेल, मनहरीका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, स्रोत शिक्षक विदुरविक्रम थापा, पशुपतिनाथ माविका अध्यक्ष माधव गौतम, प्रधानाध्यापक भानुभक्त आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
तालिम सोमबारसम्म सञ्चलान हुनेछ । मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि योजनाबद्ध विभिन्न कार्यक्रम गर्दै आएको छ ।



