हेटौंडा । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको प्रिन्सिपलमा मनोज थिङ नियुक्त भएका छन् । बुधबार एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशी, विद्यालयका निवर्तमान प्रधानाध्यापक शकुन्तला जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, निर्देशक दीपेश जाेशी, तालिम निर्देशक अव्यक्त खनाल लगायतकाे उपस्थितिमा थिङलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएकाे हाे । प्रधानाध्यापक पदमा नियुक्त भएका थिङले नवोदय परिवारसँग सहकार्य गरी आफू अगाडि बढ्ने बताए ।
विद्यालयले माध्यमिक तह शैक्षिक संयोजकमा मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक संयोजकमा सचिता पाण्डे, कक्षा ९ र १० को संयोजकमा सिएम रिमाल, तालिम विभाग प्रमुखकाे रुपमा नरेन्द्रकुमार नगरकोटी र प्रशासन एवम् लेखा प्रमुखमा शरद राज पाण्डेलाई नियुक्त गरेको छ । कार्यक्रममा विद्यालयले निर्माण गरेको ‘भिजन, मिसन र भ्यालुज’ को पनि सार्वजनिकिकरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले समय सापेक्ष संस्था अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
काम गर्दा चुनौतीहरू धेरै आउँछन् र उक्त चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । व्यवस्थापन टिमले सोच सकारात्मक राखे नतिजा राम्रो आउने उनको दावी थियो ।
विद्यालयका निर्देशक दीपेश जोशीले विद्यालयको मिसन, भिजन र भ्यालुजको बारेमा शिक्षकलाई जानकारी गराएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, नवोदय विद्यालयका शिक्षक, कर्मचारीहरूको सहभागिता रहेको थियो ।



