त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बराल पाल्पा कुवाडीका हुन् । प्रधानमन्त्री प्रचण्डका विश्वास पात्र ६५ वर्षीय उनले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट पिएचडी गरेका छन् । उनी २०६४ सालमा पोखरा विश्वविद्यालयको उकुलपतिका रुपमा नियुक्त भएका थिए ।
उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन सुरु गरेका थिए । २०४१ सालबाट पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनले विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न विदेश जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्यो ।
उनी २०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर भए । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरेका उनले २०६९ सालमा भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन जाने अवसर पाए । त्यहाँ एक वर्ष पढाएर नेपाल फर्किए र त्रिविमा नै पढाउन थाले । उनी २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए।
उनले महेन्द्र विद्या भूषण पदक ‘क’, राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् । उनी पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्य समेत हुन् ।
उनी पोखरा विश्वविद्यालयमा छँदा सम्बन्धन र अनावश्यक सेवा सुविधा वितरण गरेको विषयमा विवादमा तानिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाए पनि सफाइ पाइसकेका छन् ।




