हेटौंडा । मुक्तक मञ्च मकवानपुरले सोमबार तीन जना मुक्तककारलाई सम्मान गरेको छ । मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम अधिवेशन, १४ औँ मुक्तक वाचन श्रृङ्ख्ला तथा स्रष्टा सम्मान कार्यक्रमबाट तीन मुक्तककारलाई सम्मान गरेको हो ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार दीपक समीपलाई प्रदान गरेको हो । उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।
मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा स्थापित तारा स्मृति सम्मान २०८० मुक्तककार हरिकृष्ण काफ्लेलाई प्रदान गरेको छ । प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०७९’ थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई प्रदान गरेको छ । यो सम्मानको राशी नगद ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । कार्यक्रममा पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलाई सम्मान गरिएको थियो ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्य रहेको थियो । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले सोमबार सम्मानित तीन मुक्तककारको संक्षिप्त परिचय दिएका थिए । कार्यक्रममा करिव दुई दर्जन व्यक्तिले आफ्नो मुक्तक वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आरसी रिजाल, समाजसेवी सुदर्शन अधिकारीलगायतको आतिथ्य रहेको थियो ।



