काठमाडौँ / कवि, गीतकार तथा मुक्तककार दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ शनिबार काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा सर्वनामा थियटरमा कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति राईले समीपसँगको पुरानो स्मृति स्मरण गर्दै उनका लघुकथा पाठकमैत्री रहेको बताए । कृतिमाथि गरिएको समीक्षात्मक टिप्पणीप्रति इंगित गर्दै उनले भने, ‘कथा लघु छ तर व्याख्या लामो आयो, समीक्षकले आफ्ना धारणामा पाठकलाई बाध्न हुँदैन ।’
आधुनिक प्रविधिले विश्वलाई आकर्षित गर्दै गएको सन्दर्भ जोड्दै उनले एआईको जमानामा अब त्यसलाई पनि माथ गर्ने खालका सिर्जना आउनुपर्ने बताए । ‘लेखन पाठकमैत्री हुनुपर्छ । यदि, एआईले लेखेको कविता पाठकमैत्री हुँदैन र त्यसमा मानवीय संवेदन हुँदैन भने त्यो मान्छेको सिर्जनाभन्दा माथि हुँदैन,’ उनले भने, ‘एआईले मान्छेका कविता लेखेर ऊ रुँदैन भने हामीले उसलाई जित्न सक्छौँ ।’
कार्यक्रमका अध्यक्ष वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले कुलपति राईले भने जस्तै ‘समीक्षकले आफ्ना धारणामा पाठकलाई बाँध्न नहुने विषय पहिला प्रतिष्ठानबाटै सुरु होस्’ भन्ने टिप्पणी गरे । साथै, समीपका लघुकथा पाठकमैत्री र मानवीय संवेदनालाई छुने खालका रहेको बताए ।
कृतिमाथि डा. ईश्वरमणि अधिकारी र ज्ञानु अधिकारीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको ‘नदीको राजमार्ग’को मूल्य २७० रुपैयाँ रहेको छ ।




