हेटौंडा जेसीजको आयोजनामा हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की सीता बर्तौला प्रथम भएकी छिन् । हेटौंडा जेसीजको ‘ड्रग अवार्नेस प्रोग्राम’ अन्तर्गतको ‘लागुपदार्थ दुव्र्यवसन अन्त्यका सम्भावनाहरु’ शिर्षकमा भएको वक्तृत्वकलामा बर्ताैला प्रथम भएकी हुन् ।
१५ जना सहभागी मध्ये कक्षा १२ की प्रेक्षा तिमल्सिना द्धितीय र कक्षा १० का हेमराज बिमलि तृतीय भएका छन् । उनीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । हेटौंडा जेसीजका अध्यक्ष श्रवण कुमार बर्ताैलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी हेटौंडा लेडी जेसीजका अध्यक्ष दिलु घर्तिमगर, नारायणगढ लेडी अध्यक्ष सुस्मिता श्रेष्ठ, प्रस्तावित चैनपुर जेसीजका महासचिव रबिन ढकाल, सिद्धार्थ माविका प्रध्यानाध्यापक मोहन शर्मा, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख टिकाराम दाहाल, सियान पुनस्थापना केन्द्रका सञ्चालक सौजन डिसी, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति छोइसाङ लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बर्ताैलाले किशोर युवाहरु नै लागुऔषधमा फस्ने भएको हुँदा विद्यालयमा भएको वक्तृत्वकलाले लागुऔषध न्यूनिकरणमा मद्धत पुग्ने विश्वास लिएको बताए । कार्यक्रममा सियानका सञ्चालक डिसीले आफ्नो अनुभवहरु साटेका थिए । त्यसैगरी स्वस्तिका बानियाँले दुव्र्यवसन विरुद्ध कविता वाचन गरेकी थिइन् ।
प्रतियोगितामा हेटौंडा जेसीजका पुर्व अध्यक्ष कुश कुमार रिजाल, दिपकराज मिश्र, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र विद्यालयकी शिक्षिका शुसिला चौलागाईं निर्णायकको भूमिकामा रहेका थिए ।
कार्यक्रम अन्तर्गत मंगलबार आधुनिक राष्ट्रिय माविमा, बुधबार प्रगती माविमा र विहीबार भुटनदेवी माविमा वक्तृत्वकला हुने कार्यक्रम संयोजक हरि अधिकारीले जानकारी दिए ।



