
हेटौंडा / हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले २१० औं भानु जयन्ती विशेष कार्यक्रम गरी भानुभक्त आचार्यलाई सम्झिएको छ । भानु जयन्तीको अवसरमा नृत्य, भानुभक्तको वृत्तचित्र, कविता वाचन र पुस्तक परिचर्चा लगायतको कार्यक्रम गरिएको हो । नवोदय साहित्यिक बगैँचा बाल क्लबको आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले कविता वाचन गरेका थिए । त्यसैगरी आधुनिक राष्ट्रिय मावि, अमर मावि, श्रमिक मावि, नवोदय शिशु सदन, ब्रम्हदिक एकेडेमी, जिएस, निकेतन र चन्द्रोदय माविका विद्यार्थीहरुले पुस्तक परिचर्चामा सहभागिता जनाएका थिए ।
पुस्तक परिचर्चामा साहित्यकार निमेष निखिल र छवि अनित्य निर्णायकको भूमिकामा रहेका थिए । आधुनिक माविकी भूमिका ओझा, नवोदयकी स्तुती गुरागाईं र जिएसकी निमिशा निरौला उत्कृष्ट वक्ता घोषित भएका थिए । नवोदय साहित्यिक बगैँचा बाल क्लबकी अध्यक्ष विदुषी हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार हयाग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने बाल क्लबकी संस्थापक अध्यक्ष इलिशा पराजुली, साहित्यकार डिबी बर्तौला लगायतको उपस्थिति रहेको थियो ।



