
हेटौंडा / शिक्षकहरुमा पठन संस्कृतिको विकासका साथै ज्ञान अभिवृद्धि गराउने उद्देश्यले हेटौँडा–४ मा रहेको नवोदय शिशु सदनले आफ्ना शिक्षकलाई पुस्तक उपहार दिएको छ । गुरुपूर्णिमाको अवसरमा सोमबार विद्यालयले एक सय २५ जना शिक्षक तथा कर्मचारीलाई प्रति व्यक्ति एक हजार रुपैयाँ बराबरको पुस्तक उपहार दिएको हो ।
विद्यालयले हेटौँडा–४ भैरवरोडमा रहेको किताबघरमा आफ्ना रोजाईको किताब खरिद गर्न सिफारिस गरेको थियो । विद्यालयद्वारा पुस्तक उपहार पाएपछि शिक्षकहरु हर्षित बनेका छन् । पठन संस्कृतिको विकास र शिक्षकहरुलाई पठन क्रियाकलापमा थप हौसला थप्न विद्यालयको कदम सराहनीय रहेको विद्यालयकी शिक्षक डायमण्ड रुपाखेती बताए । यसअघिका गुरु पूर्णिमा विद्यालयले सामान्य कार्यक्रम गर्ने गरेकोमा यस वर्षबाट नयाँ र सिर्जनशील कार्य गरेको भन्दै रुपाखेतीले खुसी व्यक्त गरे ।
विद्यालयका मावि संयोजक सिएम रिमालले समाजमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विद्यालयका सबै शिक्षकलाई पुस्तक उपहार दिइएको बताए । किताबी ज्ञानबाट शिक्षक, विद्यार्थी र समग्र समुदायमा ज्ञान बढ्ने भएकाले विद्यालयले पुस्तक उपहार प्रदान गरेको उनले बताए ।
विद्यालयले शिक्षक र विद्यार्थीको लागि रचनात्मक कार्यक्रम ल्याइरहेको र आगामी दिनमा थप कार्यक्रम ल्याएर शिक्षण सिकाई क्रियाकलापमा जोड दिइने नवोदयले बताएको छ ।



