
तस्वीर : द क्यान्डिड स्टुडियो
हेटौंडा / हेटौंडा जेसीजले विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । हेटौंडा जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विहीबार हेटौंडा १५, चिप्लेटीमा रहेको विश्वज्योती आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अमृत बर्ताैलाले जानकारी दिए ।
विद्यार्थीहरुलाई आवश्यक पर्ने कपी, कलम, किताब, पेन्सिल, फुटबल, ब्याडमिन्टन लगायतका पचास हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सञ्जिव तिमल्सिनाले बताए । हेटौंडा जेसीका अध्यक्ष श्रवण कुमार बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडा जेसीजका निवर्तमान अध्यक्ष पवन कुमार कंशाकर, पुर्व अध्यक्ष राजदेव बानियाँ, रवि नेपाल, कृष्ण बहादुर कार्की, काव्यमणी अधिकारी, कुश कुमार रिजाल, विद्यालयका प्रध्यानाध्यापक प्रमोद प्रसाद चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर घलानको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बर्ताैलाले हेटौंडा जेसीजले सन् २०१५ देखि निरन्तर गरिरहेको कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले हेटौंडा जेसीज बजारमा भए पनि गाउँ गाउँमा गएर काम गर्ने संस्था भएको बताएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समतिका अध्यक्ष घलानले विद्यालयलाई हेटौंडा जेसीजले निरन्तर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । त्यस्तै स्थानीय सरकार आएसँगै विद्यालयमा विभिन्न सुधारहरु हुन थालेको उनले बताए ।
उपमेयर बानियाँले विद्यालयलाई बजेट विनियोजन गरेर ३ कोठे भवन निर्माण कार्य सुरु भएको र आागमी आर्थिक वर्षमा पनि विद्यालयको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयको कक्षाकोठामा गएर अनुगमन समेत गरेको थिए ।



