हेटौँडा : हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत भएको छ । आइतबारबाट सुरु भएको कार्यक्रम आज बुधबारसम्म सञ्चालन हुने विद्यालयकी शिक्षिका एवम कार्यक्रम सहजकर्ता स्मिति गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जना प्रस्तुत गरिएको छ । कार्यक्रमको पहिलो दिन कक्षा १ का विद्यार्थीले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए । यस्तै सोमबार कक्षा २, मङ्गलबार कक्षा ४ र बुधबार कक्षा ४ र ५ का विद्यार्थीका रचनाहरू प्रस्तुत गरिएको थियो भने आज कक्षा २ र पाँचको प्रस्तुत गरिने सहजकर्ता गिरीले जानकारी दिनुभयो । बालबालिका, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई सिर्जनशीलताका माध्यमबाट थप बलियो बनाउने र बालबालिकालाई आफ्ना सपना र सिर्जनाहरू अभिव्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमले बालबालिकाको सोच, कल्पनाशक्ति र लेखन क्षमतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको गिरीले बताउनुभयो ।
सहजकर्ता गिरीका अनुसार कथा चौतारीले विद्यार्थीको प्रतिभा उजागर गर्दै उनीहरूको कथा भन्न सक्ने आत्मविश्वास निर्माण गर्नेछ । विद्यालयले यस कार्यक्रमलाई हरेक वर्ष अझ सुदृढ र विस्तारित रूपमा आयोजना गर्ने लक्ष्य राखेको गिरीको भनाइ छ । कार्यक्रमले अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिर्जनशीलता र क्षमता नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको छ । कक्षामा १ अध्ययन गर्ने विद्यार्थीको अभिभावक गंगा रोक्काले कुनै मञ्चमा उभिनु बालबालिकाका लागि चुनौतीपूर्ण कुरा भएको उल्लेख गर्नुहुँदै यस कार्यक्रममा उनीहरूले देखाएको आत्मविश्वास, जसले उनीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्न प्रोत्साहित गर्यो, अभिभावकका लागि निकै प्रेरणादायी रहेको बताउनुभयो । यो विद्यालयको सैद्धान्तिक शिक्षाभन्दा परको मूल्यवान योगदान भएको उहाँको भनाइ छ ।
पहिलो कार्यक्रममा साहित्यकार एवम् पठन संस्कृतिका अभियन्ता छविलाल श्रेष्ठ (छवि अनित्य) को प्रमुख आतिथ्य तथा विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीको सभाध्यक्ष रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक सङ्का सदस्य आइतमान नेगीको विशेष आतिथ्य एवम् शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ५ सय जना विद्यार्थी अध्ययनरत् छन् ।