हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इङ्ग्लिस सेकेण्डरी स्कूलले गत आइतबारदेखि सुरु गरेको सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम समापन भएको छ । बिहीबार प्रधानाध्यापकदेखि उत्कृष्ट शिक्षक, कर्मचारी र कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै कार्यक्रम समापन भएको हो ।
एसईई परीक्षा सर्वोकृष्ट नतिजा हासिल गराउन सफल विषयगत शिक्षकहरुलाई १०/१० हजार रुपैयाँ नगदसहित कदरपत्रले सम्मानित गरिएको छ । अनिवार्य गणित विषयमा प्रधानाध्यापक विनोद सुवेदी, अनिवार्य अंग्रेजी विषयमा सहायक प्रधानाध्यापक अमुल श्रेष्ठ, अनिवार्य विज्ञानमा प्रेम हमाल, ऐच्छिक गणितमा तुल्सी न्यौपाने, सामाजिक विषयमा विश्वराज सापकोटा, नेपाली विषयमा निर्मल घिमिरे, अनिवार्य गणितमा लालकाजी परियार, अनिवार्य विज्ञानमा देवराज ढुंगेल, लेखा विषयमा अशोक मैनाली, कम्प्युटर विषयमा राजेशकुमार सुवेदी, माध्यमिक तहका कोअर्डिनेटर उमेश अर्याललाई नगदसहित सम्मान गरिएको हो ।
यस्तै, विद्यालयका तहगत संयोजक आधारभूततर्फ निर्मला अर्याल, प्राथमिकतर्फ संयोजकहरु सन्ध्या बस्नेत अर्याल, सुनिताकुमारी क्षेत्री, कल्पना सिम्खडा देवकोटा, तीजकुमारी थापा, पूर्वप्राथमिक तहतर्फ संयोजक सुमित्रा सापकोटालाई नगद ७÷७ हजार रुपैयाँसहित सम्मान गरिएको छ । विद्यालयमा लामो समयदेखि अध्ययपन गराउने शिक्षकहरु रुकुकुमारी गौतम, रुपेश चौहान, आईशा भण्डारी, अन्जुम श्रेष्ठ, शर्मिला अधिकारी, उर्मिला राई, बिना पण्डित, रीता बर्तौला, संगीता सापकोटा, शैलिजा श्रेष्ठलाई पनि जनही ७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । विद्यालयका सहायक लेखापाल कमला छत्कुली, सबैभन्दा पुरानो कर्मचारी जगन्नाथ ढुंगाना, आया अनुदेवी श्रेत्री, अनुप उप्रेती, चालक कविराज ढुंगेललाई जनही ६ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । यस्तैै, २०८० सालको वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी र विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई शैक्षिक सामग्री र शिल्ड प्रदान गरिएको छ ।
पहिलो दिन आइतबार नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीको प्रस्तुति रहेको थियो । दोस्रो दिन सोमबार १ कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीको प्रस्तुति रह्यो । बुधबार कक्षा ४–५ को र बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको सांस्कृतिक प्रस्तुति रहेको थियो । विद्यालयले विद्यार्थीको आत्मबल बढाउन, सिकेका कुरा प्रस्तुत गर्न, शिक्षा, ज्ञान, सीप क्षमताको विकास गर्ने लक्ष्यसहित सांस्कृतिक, शैक्षिक प्रदर्शनीको आयोजना गरेको हो ।
विद्यालयका सञ्चालक दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । हेटौंडा—२ नम्बर वडाका वडा अध्यक्ष विष्णुगोपाल महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिल्सिना, संस्थापक अध्यक्ष प्रकाश ढकाल, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, वरिष्ठ पत्रकार प्रताप विष्टलगायतको आतिथ्य रहेको थियो ।