हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गर्दै मेघा विद्यालय बनाउने लक्ष्यसहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक मावीका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ का संयोजक श्रीराम दाहाल, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिषचन्द्र सापकोटा सहितको टोलीले देशकै सबैभन्दा धेरै विद्यार्थी अध्यापन गर्ने कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको हो ।
अवलोकनको क्रममा हेटौंडाको टोलीले उक्त विद्यालयलाई मर्ज गर्दाको अवस्था, ठूलो सङ्ख्याको कर्मचारी र विद्यार्थीको सफल व्यवस्थापन, चुनौती, सम्भावना र अवसरको बारेमा कालिकाको विद्यालय प्रशासनसँग जानकारी लिएको थियो । जानकारी दिँदै कालिकाका प्रधानाध्यापक दिनेश थापाले एकीकृत गरिने दुई विद्यालयको व्यवस्थापन समिति, स्थानीय सरकारले समन्वयको भूमिका निर्वाह गरे एकीकृत गरिने प्रक्रिया ठूलो समस्या नहुने बताए ।
सफल विद्यालय एकीकृत गरेर मेघा विद्यालय बनाउने विषय चुनौतीपूर्ण रहेपनि एक मनमा एकतासहितको कार्य गरे अभियान सफल हुने उनको भनाई छ ।
अवलोकनको क्रममा भएको अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष वलबहादुर पुनःले ठूलो विद्यालय बनाएर देशकै नमुना बनाउने गरी हेटौंडामा भएको प्रयास उचित भएको बताउँदै यो अभियानमा आफूहरुको अनुभवलाई आधुनिक-भुटनदेवी एकीकृत गर्दा प्रयोग गर्न सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै हेटौंडा-४ का वडाध्यक्ष सिग्देलले सिमाना जोडिएको विद्यालयलाई एक बनाएर देशकै ठूलो र नमुना विद्यालय बनाउने अभियानमा सम्पूर्ण हेटौंडाको सहयोग रहेको उल्लेख गरे । कालिकाको व्यवस्थापनबाट आफूहरुले पनि सहज ढङ्गबाट यो अभियानलाई निचोडमा पुर्याउन सफल हुने उनले विश्वास व्यक्त गरे ।
आधुनिकमा करिब २८ सय बालबालिका र भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् ।
अवलोकन भ्रमणमा आधुनिक र भुटनदेवीका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको पनि सहभागिता थियो ।