हेटौंडा, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा तेस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगिता हुने भएको छ ।
विगत वर्षझै यस वर्ष पनि आगामी फागुन १५ गते प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल श्यामकुमार बानियाँले जानकारी दिए । विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बानियाँले बताए । कार्यक्रममा १० कक्षासम्मका बालबालिकाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक आल्देन लिङ्देनले जानकारी दिए ।
प्रतियोगिताका लागि सहभागीले गाउने गीत भने नेपालीपन झल्कने सन्देशमूलक हुनुपर्ने लिङ्देनले उल्लेख गरे । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले फागुन १० गतेभित्र नाम दर्ता गर्न आह्वान गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः रु १० हजार, ७ हजार र ५ हजार नगदका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । गत वर्ष आयोजना गरेको दोस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा जेनिथ विद्यालयकी विशाखा पण्डितले जित्न सफल भएकी थिइन् ।