×

मेनु

कस्तो छ मकवानपुरमा एसईई २०८० को नतिजा?

sudhionline
0 पटक हेरियो
0 प्रतिक्रिया

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लाको नतिजा राष्ट्रिय नतिजाभन्दा पनि कमजोर देखिएको छ । राष्ट्रिय नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य छन् । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड– एनजी) भएका छन् । मकवानपुर जिल्लाबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिएका छन् ।

गत चैत १५ गते सुरु भएर चैत २७ गते एसईई सकिएको थियो । एसईईमा एउटा विषयमा मात्रै एनजी हुने ७ सय ३० जना र २ वटा विषयमा एनजी हुने ६ सय २५ विद्यार्थी छन् । २ वटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ।

sudhionline लेखक

हाम्रो टोलीका अनुभवी सदस्य, निरन्तर रूपमा गुणस्तरीय सामग्री प्रकाशित गर्दछन्।

प्रतिक्रियाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *