हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर १३ लाख ८ हजार रुपैयाँ सहयोग संकलन गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, पूर्वविद्यार्थी सहभागी भई कात्तिक ४ र ५ गते मकवानपुरगढी गाउँपालिकाको ५ र ६ नम्बर वडाका विभिन्न १० स्थानमा देउसी भैलो खेलिएको थियो ।
आगामी मंसिरमा विद्यालयको स्वर्ण महोत्सव आयोजनाका लागि आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको देउसी भैलोमा अपेक्षा गरेभन्दा बढी सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ । प्रधानाध्यापक कार्कीका अनुसार मंसिर पहिलो साता साताव्यापी कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने तयारी छ । स्वर्ण महोत्सव आयोजना गरेर बचेको पैसा विद्यालयको अक्षयकोषमा जम्मा गरिने प्रधानाध्यापक कार्कीले बताउनुभएको छ । यसअघि विद्यालयको अक्षयकोषमा १४ लाख रुपैयाँ जम्मा भइसकेको छ । गाउँमा देउसीभैलो चलिरहँदा विदेशमा रहेका गाउँलेले समेत सहयोग गरेको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिका–५ को सिमलटार, धादिङ, बुङ्दल, कालिवन, ज्यामिरे, मकवानपुुरगढी गाउँपालिका–६ को सोलिथुम, डुम्रेकुना, बागदली, भागिरथी टोलमा देउसीभैलो खेलिएको थियो । स्वर्ण महोत्सव आयोजनाका लागि भनेर खेलिएको देउसी भैलो कार्यक्रममा ३ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा लेखिने प्रधानाध्यापक कार्कीले बताउनुभएको छ । गत वर्षको एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर चर्चामा आएको शारदा माध्यमिक विद्यालयमा ५ सय १४ जना विद्यार्थी अध्ययनरत छन् ।