हेटौँडा : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा ७० वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आकस्मिकरुपमा हुन सक्ने शिक्षकको अनुपस्थिति वा कार्यरत शिक्षक लामो अवधि विदामा रहँदा खटाउन सकिने गरी हेटौँडा उपमहानगरपालिकाले योग्य शिक्षकको सूचि तयार पार्ने गरी शिक्षक बैंकको अवधारणा गत वर्षदेखि कार्यान्वयनमा ल्याएको छ । यस वर्ष शिक्षक बैंकमा सहभागी हुन आव्हान गर्दा शिक्षक बैंकमा सहभागी हुनेको संख्यालाई हेर्दा निराशाजनक अवस्था देखिन्छ ।
निम्न माध्यमिक तहमा १२ जना र माध्यमिक तहमा ७ जना मात्रै उत्तीर्ण भएका छन् । पहिलो चरणमा वस्तुगत परीक्षा, दोस्रो चरणमा विषयगत लिखित परीक्षा र अन्तरवार्ता गरी परीक्षा तीन चरणमा भएको थियो । शिक्षक बैंकमा सहभागी हुन चाहने शिक्षक छनोटका लागि भएको परीक्षामा पास हुने उम्मेदवारहरुमध्ये निम्न माध्यमिक अन्तर्गत नेपालीतर्फ ३ जना, सामाजिकतर्फ ७ जना, गणित र अङ्ग्रेजीतर्फ १÷१ जना पास भएका छन् । विज्ञान विषयतर्फ एक जना पनि पास हुन सकेनन् । त्यस्तै माध्यमिक तह अन्तर्गत नेपालीतर्फ ३ जना, सामाजिकतर्फ १ जना, विज्ञानतर्फ २ जना र अङ्ग्रेजीतर्फ १ जना परीक्षार्थी पास भएका छन् । माध्यमिक तहमा गणित विषय शिक्षक एकजना पनि उत्तीर्ण हुन सकेनन् ।
प्राथमिक तहतर्फ ३२ जना र बाल विकास सहजकर्तातर्फ ३५ जना परीक्षार्थी सफल भएका छन् । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले साउन १४ गते सामाजिक सञ्जाल फेसबुक र हेटौँडा उपमहानगरपालिकाको वेभसाइटमा शिक्षक बैंकमा सहभागी हुन आव्हान गरेको थियो । साउन २८ गतेसम्म आवेदन दिन सकिने समयसीमामा विभिन्न तहका लागि २ सय ४६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये बाल विकास सहजकर्तातर्फ ७४ जना, प्राथमिक तहतर्फ ७४ जना, निम्न माध्यमिक तहतर्फ ६० जना र माध्यमिक तहतर्फ ११ जनाले आवेदन दिएका थिए । निम्न माध्यमिक तह अन्तर्गत अङ्ग्रेजीतर्फ १० जना, गणिततर्फ ५ जना, नेपालीतर्फ १९ जना, सामाजिकतर्फ १६ जना र विज्ञानतर्फ १० जनाले आवेदन दिएका थिए । त्यस्तै माध्यमिक तह अन्तर्गत अङ्ग्रेजीतर्फ २ जना, विज्ञानतर्फ २ जना, नेपालीतर्फ ५ जना र सामाजिकतर्फ ७ जनाले आवेदन दिएका थिए । गणिततर्फ कसैले आवेदन नै नदिएको हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अधिकृत राजमणि शर्माले जानकारी दिनुभयो ।
शैक्षिकसत्र २०८१ सालमा शिक्षक बैङ्कमार्फत २८ जना शिक्षकले जागिर पाएको अधिकृत शर्माले जनकारी दिनुभयो । शिक्षक बैंकमार्फत रिक्त भएको स्थानमा तुरुन्त शिक्षक खटाउने तथा सुत्केरी भएका महिला शिक्षिकाको स्थानमा खटाउने गरिन्छ । साथै यसबाट विद्यालय शिक्षक नियुक्तिको खर्च कम हुने र योग्य शिक्षक नियुक्तिको सुनिश्चितता भएको अधिकृत शर्माले बताउनुभयो । व्यापक प्रचार प्रसार गरी सहभागी संख्या अझ बढाउँदै यस कार्यलाई निरन्तरता दिने उहाँको भनाइ छ । तर, शिक्षक बैंकको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण आकर्षक कम भएको सरोकारवालाको भनाइ छ ।