हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा र शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा वि.सं. २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानको प्रमुख आतिथ्यमा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी विमर्श श्रेष्ठ र अनुषा उप्रेतीले जिपिए ४ हासिल गरेबापत नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसैगरी वडाभित्रका ६ वटा माध्यमिक विद्यालयबाट जिपिए ३.२० भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ भने विषयगत रूपमा ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठीलगायतको उपस्थिति रहेको थियो।



