हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सन्चालनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका छन् । शनिबार बिहान कुलेखानीको ड्यामका ढोका खोलिएपछि सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु पहिरोमा परेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए ।
कुलेखानी भरिएर बाँधका ढोका खोलिएपछि विद्यार्थीहरुलाई एकेडेमी सन्चालनमा रहेको वत्सलादेवी माविबाट केही माथि रहेको गाउँमा लैजाने क्रममा सो घटना भएको हो । ठकुरीका अनुसार अन्य साथीहरुलाई छोडेर छोटो बाटोबाट गाउँतर्फ बढ्ने क्रममा उनीहरु पहिरोमा परेका हुन् ।
पहिरो गएको ठाउँसम्म सिस्नेरी प्रहरी चौकीबाट सुरक्षाकर्मी पुगे पनि पहिरो पन्छाएर पुरिएका विद्यार्थीहरुलाई निकाल्न सकिएको छैन । भीमफेदी र काठमाडौं दुवैतर्फबाट सिस्नेरीसम्म पुग्ने मोटरबाटो बन्द भएका कारण उद्धारटोली पुग्न सकेको छैन ।
सिस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेका अनुसार पहिरो हटाउनका लागि स्थानीयको सहयोग लिएर अघि बढ्ने प्रयास भइरहेको छ । ‘पहिरो खसेको ठाउँसम्म जेसिबी पुग्न सक्ने अवस्था छैन । गाउँलेहरुलाई कुटो, कोदालो लिएर पहिरो पन्छाउन सहयोग गर्न अनुरोध गर्दैछौँ’, न्यौपानेले भने ।
पहिरोमा परि बेपत्ता हुनेहरुमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र अर्का एक योन्जन थरका विद्यार्थी रहेका छन् । यस्तै धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी बेपत्ता रहेका छन् । एन्फाले गतवर्षदेखि वत्सलादेवी माविसँगको सहकार्यमा सिस्नेरीमा ४० विद्यार्थी राखेर एकेडेमी सन्चालन गर्दै आएको छ ।
बेपत्ता भएका घलान मकवानपुर जिल्ला समन्वय समितिका संयोजक ललित घलानका छोरा हुन् । घटनाबारे जानकारी पाए लगत्तै जिसस संयोजक घलानसहितको टोली हेटौँडाबाट घटनास्थलतर्फ जाने प्रयास गरे पनि ठाउँठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि हेटौँडा नै फकिएका छन् ।