हेटौंडा \ हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसले आयोजना गरेको लोजीकन २०२४ मा हेटौंडा सिटी कलेजको समूह ४ उत्कृष्ट भएको छ । प्रतियोगितामा सहभागी ६ कलेजहरूलाई पछि पार्दै सिटी-४ उत्कृष्ट हुन सफल भएको हो ।
आईटी विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक कोडिङ संस्कृति प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा ६ विद्यालयका ३० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उत्कृष्ट सिटी कलेजको समूह-४ मा आयषु आचार्य, उज्ज्वल श्रेष्ठ र निशान्त विश्वकर्मा रहेका थिए ।
यस्तै, प्रतियोगितामा उपविजेता कोड वारियर्स भएको छ भने तृतीय हेटौंडा सिटीकै समूह एचसीसी इनोभेटर्स भएको छ । प्रतियोगितामा विजेता, उपविजेताहरुलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका छ जना, हेटौंडा सिटी कलेजका बाह्र जना, शहीद आकाश मेमोरियल क्याम्पसका तीन जना सहभागी थिए । यस्तै, चितवनको बालकुमारी कलेज र यनाइटेड टेक्निकल कलेज र गैंडाकोटस्थित लुम्बिनी आइसीटी क्याम्पसका तीन-तीन जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।